नेपालले यू–२३ एसिया क्लालिफायर नखेल्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०२४ मा हुने यू–२३ एसिया कपको छनोट प्रतियोगितामा टिम समावेश नगर्ने भएको छ ।

एन्फा प्रवक्ता सुरेश शाहले आर्थिक अभाव र वार्षिक योजनाको रणनीतिमा नपरेका कारण यसपल्ट टिम समावेश नगर्ने निर्णय भएको जानकारी दिनुभयो ।

विगतमा नेपालले नियमित रुपमा यू–२३ एसिया कप छनोट खेलिरहेको थियो । राष्ट्रिय टिममा युवा खेलाडीको बर्चश्व हुँदा उनीहरुको एक्स्पोजरका लागि पनि यू–२३ प्रतियोगिता महत्वपूर्ण थियो ।

तर, पदाधिकारीको सेवा सुविधा बढाएको भनेर आलोचित भइरहेको एन्फा प्रतियोगिताका लागि टिमको नाम नै दर्ता नगर्ने अर्को आत्मघाती निर्णयमा पुगेको छ ।

‘राष्ट्रिय टिमको प्रदर्शन हाम्रो प्राथमिकता हो । अक्टोबरमाा विश्वकप छनोटका खेलहरु हुँदैछन् । त्यसैले हामीले तुलनात्मक रुपमा एउटा प्रतियोगिता छाड्ने निर्णय गरेका हौं,’ एन्फा प्रवक्ता सुरेश शाहले भन्नुभयो,‘रणनीतिक रुपमा हामीसँग यो वर्ष यू–२३ को कार्यक्रमका लागि बजेट र योजना पनि थिएनन् ।’

नेपालमा अहिले घरेलु लिग चलिरहेको छ । यू–२३ एसिया कप क्लालिफायर ४–१२ सेप्टेम्बरमा हुँदैछ ।

यस्तै, दुई महिनाअघि सम्पन्न प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको फाइनलमा लाओसलाई पराजित गरेपछि नेपाल टिमका प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले युवा टिमलाई एक्स्पोजरको आवश्यकता रहेको बताउनुभएको थियो ।

Back to top button