७ दिनमा १ सय ४० अंकले बढ्यो नेप्से

काठमाडौं । साताको चौथो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बजार परिसूचक नेप्से १६ दशमलव ४९ अंकले वृद्धि हुँदा १९५९ दशमलव १२ अंकको विन्दुमा बन्द भएको छ ।

गत साताको सोमबार एकल अंकको सामान्य गिरावट भएर मंगलबारदेखि बढ्न सुरु भएको नेप्से त्यसयताको ७ औं दिन पनि लगातार वृद्धि भएको छ ।

१ जेठ सोमबारको ‘इन्ट्रा–डे’ कारोबारमा करिब एक वर्ष यताकै न्यून विन्दु १८०७ दशमलव ५३ अंकको विन्दुमा झरेर सोही दिन १८१८ दशमलव ३१ अंकमा बन्द भएको नेप्से त्यसपछिको ७ कारोबार दिनमा लगातार वृद्धि हुँदा १४० दशमलव ८१ अंकले वृद्धि भएको छ ।

आज नेप्सेमा वित्त कम्पनी, हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचकमा गिरावट हुँदा अन्य उपसूचकहरु भने बढेका छन् ।

हाइड्रोपावर उपसूचक ० दशमलव ३१ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ० दशमलव २१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी सर्वाधिक ० दशमलव ४५ प्रतिशतले गिरावट भएको छ । उत्पादनमूलक उपसूचक सर्वाधिक ४ दशमलव ६९ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक ४ दशमलव ४७ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा वृद्धि भएपनि हिजोको तुलनामा आज कारोबार रकम घटेको छ । हिजो १४ फागुन २०७९ यताकै उच्च २ अर्ब २० करोडको कारोबार भएको बजारमा आज कारोबार रकममा केही संकुचित भएको हो । आज ३४ हजार ८४१ वटा कारोबारमा ४८ लाख ६५ हजार ४७५ कित्ता सूचीकृत धितोत्रप किनबेच हुँदा १ अर्ब ८७ करोड ३० लाखको कारोबार भएको छ ।

जसमध्ये शिवम् सिमेन्टको मात्रै करिब १४ करोड ६५ लाखको कारोबार हुँदा नेशनल लाइफको करिब ७ करोड ७५ लाख र हिमालयन डिस्टलरीको ५ करोड ८१ लाखको कारोबार भएको छ ।

आज नेप्सेमा कुल २२१ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३१ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।

त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर छ । आज (बुधबार) कारोबार भएकामध्ये आत्मनिर्भर लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा युनिलिभर नेपालको सेयरमूल्य ९ दशमलव ९६ प्रतिशत र शिवम् सिमेन्टको सेयरमूल्य ६ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ ।

यता सानिमा इक्विटी फण्डको इकाइमूल्य सर्वाधिक ३ दशमलव ७७ प्रतिशतले घट्दा अजोड इन्स्योरेन्सको सेयरमूल्य ३ दशमलव ६३ प्रतिशत र सुपरमाइ हाइड्रोपावरको सेयरमूल्य ३ दशमलव ४० प्रतिशतले गिरावट भएको छ ।

Back to top button