अझै सुरू भएन संसद बैठक

काठमाडौं । २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरू भएको छैन ।

नेकपा एमालेले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरीबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने आवाज उठाएपछि सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गर्नुभएको थियो।

त्यसपछि सभामुख र प्रमुख दलका सांसद‍्बीच संसद् सञ्चालनबारे छलफल भएको थियो । लगत्तै संघीय संसद् सचिवालयले तीन बजेसम्मका लागि बैठक स्थगित भएको भन्दै सूचना जारी गरेको थियो।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद पदम गिरीले सत्तापक्षका सांसदले प्रमाणबिना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै आपत्ती जनाउनुभएको थियो।

उहाँले सरकारले जवाफ नदिएसम्म संसद अगाडि बढ्न नदिने चेतावनी दिनुभएको थियो। यस्तै एमाले सांसद सुवासचन्द्र नेम्वाङले आफूहरु सदन रोक्न नहुने पक्षमा रहेको भएपनि सत्तापक्षको तर्फबाट जिम्मेवार सांसदले राखेको कुराको कुनै आधार नरहेको र गैर जिम्मेवार रहेकाले विरोध गर्नुपरेको धारणा राख्नुभएको थियो।

गत बुधबार संसद बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा सुनको सट्टा पित्तल हालेको अभिव्यक्ति दिनुभएको थियो। उहाँले ओली नेतृत्वको सरकारमा समेत भ्रष्टाचार भएको बताउनुभएको थियो।

सोही विषयलाई लिएर सत्ता पक्षका सांसदहरूले आफ्ना नेतामाथि निराधार आरोप लगाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

Back to top button