
विराटनगर । कोशी प्रदेश सभामा आजदेखि बजेट अधिवेशन सुरु हुँदैछ । दिउँसो २ बजेका लागि प्रदेशसभा आह्वान भएसँगै पहिचान पक्षधरले आज प्रदेशसभा केन्द्रीत प्रदर्शन गर्ने प्रयास गरिरहेका छन् ।
निषेधित क्षेत्र तोडेर पहिचान पक्षधरहरुले प्रदर्शन गर्न खोजेपछि प्रहरीले यो समाचार तयार पार्दासम्म १७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
कोशी प्रदेशको नाम पहिचानका आधारमा पुनः संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेश सभा भवन अगाडि पुगेका १७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश सभा सचिवालय नजिकै देवकोटा चोक र अस्पताल चोकक्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभएको छ ।
निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि पक्राउ गरेको उहाँले बताउनुभयो । पक्राउ परेकाको साथबाट गुलेली र ढुंगा बरामद भएको प्रहरीले जनाएको छ ।
विराटनगर आउने सवारी साधनको चेकजाँचमा पनि प्रहरीले कडाइ गरेको छ । प्रहरी प्रवक्ता दाहालले सुरक्षा सतर्कता उच्च बनाइएको बताउनुभएको छ । फागुन १७ गते प्रदेशको नामकरण पछि पहिलोपटक प्रदेश सभा बैठक बस्न लागेको हो ।