
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर–२ मा भिरबाट लडेर आमा–छोराको मृत्यु भएको छ । भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उहाँको २ वर्षीय छोरा साजनको मृत्यु भएको हो ।
सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि छोरालाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।
यसैबीच गत शनिबार त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता हुनुभएकी भक्तपुरकी २४ वर्षीया रोमी शाह ठकुरीको शव पनि आज गजुरी गाउँपालिकास्थित चालिसे नजिकै फेला परेको छ ।