प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

काठमाडौं । संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिन आह्वान गरेको छ।

आज बिहान जेष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध १० दिनभित्र उजुरी दिन सार्वजनिक सूचना प्रकाशन गरी आह्वान गर्ने निर्णय गरेको हो।

कार्कीमाथि लिखित रुपमा पत्रमार्फत् वा समितिले सार्वजनिक गरेको मेलमार्फत् उजुरी दिन सकिनेछ। उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ। कार्की झन्डै १५ महिनादेखि सर्वोच्चमा कामु प्रधानन्यायाधीशको रूपमा कार्यरत हुनुहुन्छ।

यस्तै, बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सहभागी हुनुहुन्थ्यो। गत वैशाख २५ गते संवैधानिक परिषद् बैठकले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो।

लामो समयदेखि प्रधानन्यायाधीश नियुक्त नहुँदा सर्वोच्चमा न्याय सम्पादनमा समस्या हुँदै आएको छ।

Back to top button