सिन्धुलीमा सर्पको डसाइबाट दाजु–भाइको मृत्यु

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–१ कुर्थौलीमा सर्पको डसाइबाट एकै परिवारका २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय ग्रिस पहाडी र उहाँका भाइ ३ वर्षीय ग्रिस्म पहाडी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

आमा गंगा पहाडीसँगै घरमा सुतिरहेका दुबै बालकलाई आज बिहान करिब ३ बजे सर्पले डसेको थियो । त्यसपछि छोराहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो । त्यहाँ उपचार हुन नसक्ने भनेपछि थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर रिफर गरिएको थियो ।

आज बिहान करिब ८ बजेतिर चिकित्सकले दुवै बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार मृतक ग्रिसको बायाँ हातको साहिँली औंलामा र ग्रिस्मको बायाँ खुट्टाको बुढी औंलाको बिच भागमा सर्पले डसेको निलडाम छ ।

Back to top button