गुणस्तर तथा नापतौप कार्यालय वीरगन्जका पूर्व बरिष्ठ निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौप कार्यालय वीरगन्जका पूर्व बरिष्ठ निरीक्षक शशीकुमार यादवविरुद्ध ४ करोड बढिको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले नोकरी अवधिभर विभिन्न कार्यालयमा कार्यरत रहँदा आफ्नो परिवारको नाममा जग्गा जमिन खरिद गरी गैरकानुनी रुपमा अकूत सम्पत्ति आर्जन गरेको उजुरी निवेदनका आधारमा अनुसन्धान भएको हो ।

उहाँका अनुसार यादवले ४ करोड ४७ लाख ३४ हजार २१२ रुपैयाँ भ्रष्टाचार गरेको पाइएकाले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

यादवले सार्वजनिक पदमा रहँदा आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादाम्यता देखिन नआइ ४ करोड ४७ लाख ३४ हजार २१२ बराबरको सम्पत्ति ऋणात्मक देखिएकाले उक्त रकमको वैधानिक स्रोत पुष्टि नभएको अख्तियारले जनाएको छ।

यादव २०४६ साल जेठ ८ गतेदेखि २०७९ साल असार मसान्तसम्म सार्वजनिक पदमा रहनुभएको थियो । उक्त समयमामा कूल २ करोड ७७ लाख २२ हजार ५० रुपैयाँ आय आर्जन गरेको देखिनुपर्नेमा ७ करोड २४ लाख ५६ हजार २६३ रुपैयाँ बराबरको सम्पत्ती आर्जन गरेको देखिएको छ।

यादवले सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको र स्रोत नखुल्ने सम्पत्तीबाट श्रीमती रिता रानी, छोराद्वय विकास यादव र अविनास यादवको नाममा खरिद गरिएका जग्गा, घर निर्माण र बैंक मौज्दातको स्रोत नखुलेको अख्तियारको ठहर छ।

आयोगले तीनैजनालाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तीबाट बढे बढाइ हाल कायम रहेको घर, जग्गा र बैंक मौज्दात समेतबाट विगो जफत गरी पाउन मागदावी सहित आरोपपत्र दायर गरेको छ ।

Back to top button