पहिचान पक्षधरको आन्दोलन शान्तिपूर्ण बनाउने सर्वपक्षीय सहमति

विराटनगर । कोसी प्रदेशमा आन्दोलनरत पहिचान पक्षधरको आन्दोलनलाई शान्तिपूर्ण बनाउने सर्वपक्षीय सहमति भएको छ।

कोसी प्रदेश नामकरणको विरोधमा भइरहेको आन्दोलनलाई लिएर सुरक्षा अधिकारी, आन्दोलनरत पक्षका प्रतिनिधि एवं सरोकारवालाबीच जिल्ला प्रशासन कार्यालय मोरङमा आज बैठक एवं छलफल भएको थियो।

प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेपछि त्यसको विरोध गर्दै पहिचान पक्षधर आन्दोलित बनेका थिए।

कोसी नाम खारेज गरी ऐतिहासिक पहिचानका आधारमा प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै पहिचान पक्षधर आन्दोलनमा छन्।

आन्दोलनका क्रममा आगजनी, तोडफोड, आवागमन अवरुद्ध, कार्यालय सञ्चालन अवरुद्धलगायतका गतिविधि भइरहेका छन्। प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिलगायतका असहमत पक्षबाट विरोधका कार्यक्रम भइरहेकोमा अब उप्रान्त शान्ति सुव्यवस्थामा असर पर्ने कुनैपनि कामहरु नगर्ने सर्वपक्षीय सहमति बैठकमा भएको हो।

साथै, कानुन सम्वत हिसाबले शान्तिपूर्ण कार्यक्रमहरु संचालन गरी जिल्लाको शान्ति सुरक्षा कायम राख्न सबैले सहयोग गर्ने तथा आन्दोलनका क्रममा पक्राउ परेका पहिचान पक्षधरलाई छाड्ने सहमति बैठकमा भएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो। उहाँका अनुसार सहमतिपछि प्रहरी नियन्त्रणमा रहेका पहिचान पक्षधर २६ जना छुटेका छन्।

विराटनगरबाट प्रहरीले गत आइतबार ८६ जना पहिचान पक्षधरलाई नियन्त्रणमा लिएको थियो। तीमध्ये तोडफोड, आक्रमण र हुलहुज्जतमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउने तयारी थियो। अन्य ६० जनालाई प्रहरीले हिजो नै छाड्यो। तर, आन्दोलनरत पक्षसँगको छलफलमा सहमति जुटेपछि प्रहरी नियन्त्रणमा रहेका सबैलाई रिहा गरिएको प्रजिअ यादवले बताउनुभयो।

आन्दोलनरत पक्षले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरिएको विरोधमा भोलि कोसी प्रदेशमा आम हड्तालको आह्वान गरेको थियो। आन्दोलनका क्रममा पक्राउ परेकाहरु छुटेपछि आम हड्ताल फिर्ता लिइएको पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले बताउनुभयो।

‘कोसी नाम खारेज भएर प्रदेशको पुनः नामकरण नभएसम्म आन्दोलनलाई निरन्तरता दिइने छ। प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलन जारी रहन्छ,’ राईले भन्नुभयो,‘आम हड्ताल मात्रै फिर्ता लिइएको हो। आन्दोलन यथावत छ।’

गत आइतबार आह्वान गरिएको प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशन बिथोल्ने योजनासहित नामकरणको विरोधमा रहेका पहिचान पक्षधरले प्रदेशसभा भवन घेराउको कार्यक्रम राखेर विराटनगरमा प्रदर्शन गरेका थिए।

हिंसात्मक प्रदर्शनपछि सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भभएको थियो। झडपमा ५४ जना सुरक्षाकर्मी र १७ जना आन्दोलनकारी घाइते भए।

यस्तै, प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठक भोलि बुधबारका लागि बोलाइएको छ। बैठकमा अवरोध पुर्‍याउन प्रदेशसभा घेराउ गरिने पहिचान पक्षधर नेता राईले बताउनुभयो।

Back to top button