भारतको नक्साबारे प्रधानमन्त्रीले बोल्नै पर्छ : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा (मुरल) राख्नु उचित नभएको बताउनुभएको छ ।

भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने कुरा सुनिएको भन्दै उहाँले यदि त्यस्तो हो भने उचित नहुने बताउनुभयो ।

अखिल नेपाल महिला संघले आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा गरेको कार्यक्रममा उहाँले भन्नुभयो,‘नेपालको भूमि आफ्नो नक्साभित्र हालेर संसद जस्तो ठाउँमा भारतजस्तो एउटा पुरानो, सुदृढ, नमुना लोकतन्त्र भनिएको देशले त्यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिदैन ।’

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा उक्त नक्साको विषयमा छलफल हुनुपर्ने बताउनुभयो । ‘प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस् । त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नु पर्छ । यतिकुरा गर्न सक्नु हुन्न भने अनि भारत भ्रमणमा किन जाने?’ उहाँले भन्नुभयो ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ १७ जेठमा भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।

Back to top button