लिग नसकिंदै जगजित श्रेष्ठ अष्ट्रेलिया फिर्ता

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका मिडफिल्डर जगजित श्रेष्ठ क्लब छाडेर अष्ट्रेलिया फर्किनुभएको छ । अष्ट्रेलियामा फुटबल खेल्ने उहाँ शहीद स्मारक ए डिभिजन लिग २०७९–८० मा त्रिभुवन आर्मीबाट खेल्न नेपाल आउनुभएको थियो।

चोटका कारण केही खेल गुमाउनुभएका उहाँले २२ मध्ये १४ खेल खेल्नुभएको थियो । उहाँले दुई गोलसमेत गर्नुभएको छ । आफू अष्ट्रेलिया फर्किसकेको जगजितले पुष्टि गर्नुभएको छ । पारिवारिक कारणले उहाँ अष्ट्रेलिया फर्किनुभएको बुझिएको छ ।

क्लबले भने जगजित फर्किएकोबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन । नेपाली सेना शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रका प्रमुख मुनाल बस्नेतले जगजितले क्लब छाडेर गएको बताउनुभयो ।

‘उहाँको व्यक्तिगत कारणले गर्दा क्लब छाड्नुभएको हो । परिवार पनि सँगै ल्याउनुभएको थियो । परिवारसँग जान पर्ने भएकोले अहिले जानुुभएको हो,‘बस्नेतले भन्नुभयो ।

लिग यही जेठ २७ गते सकिँदैछ । अब आर्मीले ४ खेल खेल्न बाँकी छ । बस्नेतले अब लिगमा थोरै खेल मात्र बाँकी रहेकोले उहाँ फर्कने सम्भावना कम रहेको बताउनुभयो ।

जगिजतले पछिल्लो पटक आर्मीका लागि गत आज एनआरटीविरुद्ध १–० ले पराजित भएको खेल खेल्नुभएको थियो । उक्त खेल उहाँले एक घण्टामात्र खेल्नुभयो । जगजितको स्थानमा ६०औं मिनेटमा जिलेस्पी जंग कार्की मैदान प्रवेश गर्नुभएको थियो।

त्यसपछि आर्मीले मछिन्द्रसँग १(१ को बराबरी खेल्दा र जावलाखेल युथ क्लबसँग २(० ले पराजित हुँदा जगिजत टिममा थिएनन् ।

Back to top button