नोबेल अस्पतालको शौचालयमा एक युवक मृत फेला

विराटनगर । विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक जना युवक मृत भेटिएका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मिक्लाजुङका ३३ वर्षीय पुरुष आज बिहान अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

उनी आज बिहान ५ः२० बजेतिर शौचालय छिरेका थिए । शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको ढोकाभित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।

मृतकले आफैंले लगाएको हरियो कपडा (गाउन)को पासो लगाएको देखिएको प्रहरीले बताएको छ ।

यस्तै, १३ वर्षीय छोरीलाई करणी गरेको आरोपमा प्रहरीले उनलाई जेठ १२ गते पक्राउ गरेको थियो । अदालतबाट म्याद थप गर्नलाई जिल्ला सरकारी वकिल कार्यालय मोरङ ल्याएको समयमा पनि उनले आत्महत्या प्रयास गरेका थिए ।

प्रहरीका अनुसार जेठ १४ गते आइतबार दिउँसो २ बजेतिर घाँटी रेटेर आत्महत्याको प्रयास गरेपछि म्याद थप नगरी उपचारका लागि आफन्तको जिम्मा लगाइएको थियो ।

सरकारी वकिल कार्यालयको थुनुवा कक्षको शौचालयमा फलामले घाँटी रेटेर आत्महत्या प्रयास गरेका उनलाई उपचारका लागि कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगिएको थियो ।

Back to top button