प्रधानमन्त्री प्रचण्ड चारदिने भ्रमणका लागि दिल्लीमाः यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिल्ली पुग्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँ चार दिने भ्रमणका लागि दिल्ली पुग्नुभएको हो ।

उहाँ नेपाल एयरलायन्सको विमानबाट नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभयो ।

हेरौं भ्रमण तालिका
भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे तालिका सार्वजनिक गरेको छ। भारतीय पक्षसँगको भेटवार्ता भोलीदेखि मात्र सुरु हुने छ। त्यसअघि आज बारखम्बास्थित नेपाली दूतावासको कार्यक्रममा प्रधानमन्त्री सरिक हुने कार्यक्रम छ।

भोली बिहान १०ः३० बजेदेखि प्रधानमन्त्रीको भेटवार्ता सुरु हुनेछ। सो समयमा उहाँ राजघाटमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ भने त्यसलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तालिका रहेको छ।

बिहान ११ बजे हइदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच द्विपक्षीय हितका विषयमा छलफल हुनेछ। १२ बजे दुई देशबीच विभिन्न विषयमा सम्झौता हुने तालिका छ।

त्यसपछि ४ बजे प्रधानमन्त्री प्रचण्डले भारतीय उपराष्ट्रपतिलाई भेट्ने कार्यक्रम तय छ । यस्तै शुक्रबार प्रधानमन्त्री प्रचण्डले ४ः ३५ मा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्तम छ । त्यसपछि उहाँ ८ः३० बजे मध्यप्रदेशको इन्दोर प्रस्थान गर्नुहुनेछ ।

शनिबार त्यहाँको काममा सरिक भई दिल्ली हुँदै ४ः२० मा स्वदेश फर्किने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

Back to top button