
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ। आज बिहान हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच भेटवार्ता भएको हो।
नेपालको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री रमेश रिजाल, सचिवहरु लगायत टोलीमा हुनुहुन्छ।
भारतको तर्फबाट द्विपक्षीय वार्तामा उद्योग वाणिज्य मन्त्री पियुष गोयल र पेट्रोलियम तथा प्राकृतिक गैस मन्त्री हरदीप सिंह पूरी, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश सचिव विनयमोहन क्वात्रा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव हुनुहुन्थ्यो।
उहाँहरुबीच द्विपक्षीय हितका विषयमा छलफल हुनेछ। त्यसलगत्तै मध्याह्न १२ बजे २ देशबीच विभिन्न विषयमा सम्झौता हुने कार्यक्रम छ।
भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने कार्यतालिका छ ।
भारतीय प्रधानमन्त्री मोदीलाई भेट्नु अगाडि आज बिहान प्रचण्डले गान्धीको समाधिस्थलमा पुगेर गान्धीप्रति पूष्पगुच्छा अर्पण गर्नुभएको थियो । उहाँले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारणसमेत गर्नुभयो।
प्रधानमन्त्री प्रचण्डले अपराह्न ४ बजे भारतीय उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने हुनुभएको छ । उहाँ शुक्रबार ४ः३५ बजे राष्ट्रपति भवन पुग्नुहुने छ । त्यहाँ उहाँले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसपछि उहाँ ८ः३० बजे मध्यप्रदेशको इन्दोर प्रस्थान गर्नुहुने छ ।