बिहेको प्रस्ताव अस्वीकार गरेका कारण प्रेमिका र उनका काकाको हत्या

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा २ जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकारका कारण उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो।

बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उहाँकी भतिजी २२ वर्षीया अञ्जनी थारुको चक्कु प्रहार गरी हत्या गरिएको हो ।

आज बिहान ९ बजेतिर दुवै जनालाई चक्कु प्रहार गरिएको थियो । तत्काल उपचारका लागि भतिजीलाई भैरहवा मेडिकल कलेज र काकालाई स्थानीय अस्पताल लगिएको थियो । उहाँहरू दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको कञ्चनका २२ वर्षीय मोहन थारुले उहाँहरूमाथि चक्कु प्रहार गरेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिनुभयो । चक्कु प्रहारपछि दुवैजना गम्भीर घाइते हुनुभएको थियो। बमबहादुरको जीतपुरमा उपचारका क्रममा र अञ्जनीको मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोहन र अञ्जनी विगत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । बिहेको प्रस्ताव अस्वीकार गरेपछि हत्या गरेको बताइएको छ । हत्या गर्ने थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालीएको छ ।

Back to top button