कोशी प्रदेशकी स्वास्थ्यमन्त्री लिम्बूद्वारा पद राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

बुधबार बसेको जसपा प्रदेश समितिको बैठकले एमाले नेतृत्वको सरकारबाट आफ्नो मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि लिम्बूले राजीनामा दिनुभएको हो ।

प्रदेशमा जसपाकी एक्ली सांसद लिम्बू २०७९ पुष २५ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा सहभागी हुनुभएको थियो।

तर, प्रदेशको नामकरणपछि सरकारले पहिचान पक्षधरको आवाजलाई बेवास्ता गरेपछि आफूले राजीनामा दिएको उहाँले बताउनुभयो। उहाँले बुझाएको राजीनामा पत्रमा भनिएको छ,‘प्रदेशको नामाकरण पहिचानको आधारमा हुनुपर्ने माग गर्दै आएपनि मुख्यमन्त्रीले वेवास्ता गरेको र पहिचान पक्षधरको आवाजलाई वार्ता र सम्वादमार्फत सम्बोधन गर्न प्रस्ताव गर्दा पनि अस्वीकार गरेकोले नैतिकताको आधारमा राजीनामा दिएको छु।’

यस्तै, लिम्बूले राजीनामा दिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार कमजोर बनेको छ । उहाँ माओवादी, राप्रपा र जसपाका ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

Back to top button