राष्ट्रिय फुटबल खेलाडी थापा गृह जिल्ला बागलुङमा सम्मानित

बागलुङ । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य कमल थापा गृह जिल्ला बागलुङमा सम्मानित हुनुभएको छ । फुटबल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको भन्दै थापालाई बागलुङको फ्युचर ब्राइटर माध्यमिक विद्यालयले बिहीबार सम्मान गरेको हो। थापा सो विद्यालयको पूर्व विद्यार्थी हो।

विद्यालयमा प्राधानाध्यापक बालकृष्ण शर्माले राष्ट्रिय फुटबल खेलाडी थापालाई नगद १० हजारसहित सम्मान गरिएको बताउनुभयो। फुटबलर थापालाई जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्का, जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारी र विद्यालयका प्रधानाध्यापक बालकृष्ण शर्माले संयुक्त रूपमा सम्मान गर्नुभएको थियो।

थापा राष्ट्रिय टिममा डेब्यू गर्ने बागलुङको पहिलो खेलाडी हो । उहाँले विश्वकप तथा एसियन कप छनोटको खेलमा अष्ट्रेलियासँग खेल्दै राष्ट्रिय टिमबाट डेब्यू गर्नुभएको थियो।

थापा हाल सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ–मर्स्याङ्दी क्लबबाट खेलिरहनुभएको छ । मिडफिल्डर पोजिनबाट खेल्ने थापाले ए डिभिजन लिगमा मनाङबाट डेब्यू गोल समेत गर्नुभएको छ ।

यस्तै, एन्फाको गोल्डेन ब्याचका खेलाडी समेत रहनुभएका थापाले नेपालको उमेर समूहअन्तर्गत अन्डर–१३ र अन्डर–१६ बाट खेलिसक्नुभएको छ ।

Back to top button