भारतको ओडिसामा रेल दुर्घटनाः २३३ जनाको मृत्यु, ९ सय जनाभन्दा बढी घाइते

भारतको ओडिसामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु भएको छ। हिजो बेलुका ओडिसाको बालासोर जिल्ला नजिक बहानगा बजार स्टेशन नजिक भएको रेल दुर्घटना हुँदा ९ सय जनाभन्दा बढी घाइते भएका छन्।

हिजो साँझ ७ बजे चेन्नईबाट हाउडाका लागि छुटेको शालीमार चेन्नई कोरोमन्डल एक्सप्रेस बहानगानजिक मालगाडीसँग ठोक्किएको बीबीसीले उल्लेख गरेको छ। मालगाडीसँग ठोक्किएपछि उक्त रेलको अगाडिका डिब्बा पटरीबाट खसेको थियो।

विपरित दिशाबाट आइरहेको यसवन्तपुर–हाउडा सुपरफास्ट एक्सप्रेस रेल पटरीबाट खसेको रेलको डिब्बासँग ठोक्किएको थियो। दुर्घटनास्थलमा अहिले उद्धारको काम भइरहेका कारण मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ।

दुर्घटनास्थलमा भारतको नेशनल डिजास्टर रेसपोन्स फोर्स (एनडीआरएफ)को टोली खटिएको छ । सात अन्य टोली सहित २०० जनाभन्दाबढी उद्धारकर्मी खटिएको बीबीसीले उल्लेख गरेको छ । साथै अन्य जिल्लाबाट चिकित्सक, एम्बुलेन्स लगायत अग्निनियन्त्रक टोली पनि बोलाइएको छ।

रेल मन्त्री अश्विनी वैष्णव घटनास्थल पुग्नुभएको छ । उहाँले दुर्घटनामा मृत्यु भएका व्यक्तीका परिवारलाई दस–दस लाख रूपैयाँ दिने घोषणा गर्नुभएको छ । यस्तै गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रूपैयाँ उपचार खर्च दिने घोषणा गर्नुभएको छ । घाइतेहरूको गोलापुरको एक अस्पताल र बालासोरको मेडिकल कलेजमा उपचार भइरहेको बिबिसीले जनाएको छ।

Back to top button