मेसी र रामोसको बिदाइ खेलमा पीएसजी पराजित

काठमाडौं । लियोनल मेसी र सर्जियो रामोसको बिदाइ खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । लिगको उपाधि जितिसकेको पीएसजी गएराति भएको खेलमा क्लेमोन्ट फुटसँग ३–२ ले पराजित भएको हो ।

घरेलु मैदान पार्क डे प्रिन्समा पीएसजीले २ गोलको अग्रता बनाए पनि जोगाउन नसक्दा पराजित भयो । यसअघि नै पेरिस क्लब छाड्ने घोषणा गरिसक्नुभएका मेसी र रामोसले पीएसजीका लागि अन्तिम खेल खेल्नुभएको छ ।

पीएसजीका लागि अन्तिम खेल खेल्नुभएका सर्जियो रामोसले पाँचौ मिनेटका नै गोल गर्नुभएको थियो भने केलियन एमबाप्पेले २१औं मिनेटमा गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाउनुभएको थियो ।

क्लेमेन्ट फुटका लागि जोन गस्टिनले २४औं र मेहदी जेफानले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो ।

ग्रेजोन केईले ६३औं मिनेटमा विजयी गोल गर्नुभयो । अन्तिम खेल हारे पनि च्याम्पियन पीएजीले ३८ खेलबाट ८५ अंक जोड्यो । दोस्रो स्थानको लेन्सले ८४ अंक जेडर लिग सकायो ।

यस्तै, कलेमेन्ट फुटबले ५९ अंक जोड्दै आठौं स्थानमा रहेर लिग सकाएको छ ।

Back to top button