सेयर बजारमा आज हरियाली,नेप्से परिसूचक ५३ अंकले बढ्यो

काठमाडौं । कारोबार साताको पहिलो दिन आज सेयर बजारमा हरियाली छाएको छ। आज नेप्से परिसूचक ५३ दशमलव ०३ अंकले बढेर १९१९ दशमलव ३७ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स ९ दशमलव ४९ अंकले बढेर ३६५ दशमलव १० विन्दुमा अडिएको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा नयाँ कर व्यवस्था गरेको भन्दै सेयर लगानीकर्ताहरू आन्दोलित भएका थिए। तर, अर्थमन्त्रालयले हाल कायम रहेको ५ प्रतिशत र ७ दशमलव ५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर हुने बताएपछि नियमित उरालो लागेको नेप्से परिसूचक उकालो लागेको लगानीकर्ताहरू बताउँछन्।

आज बिहान लगानीकर्ताहरूले बजेटमा नयाँ कर व्यवस्थाबारे अर्थमन्त्रालयमा छलफल गरेका थिए।

यसदिन २७० कम्पनीको ४५ लाख ५७ हजार १६९ कित्ता सेयर १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१ रुपैयाँमा खरिदबिक्री भयो।

आज आइजीआई प्रडेन्सियल इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढ्यो। यस्तै सामुदायिक लघुवित्त वित्तीयको ९ दशमलव ८७,ग्लोबल आइएमई ब्यालेन्स फन्डको ९ दशमलव ८० र सोल्टी होटेलको ९ दशमलव ६२ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीले १५ करोड बढि मूल्यको सेयर कारोबार गर्‍यो।

यस्तै सोल्टी होटलको ८ करोड चिली हाइड्रोपावरको ६ करोड बढिको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्। होटल् एण्ड टुरिम उपसमूहको सूचक सर्वाधिक ७ दशमलव ३७ प्रतिशतले बढ्यो। नन लाइफ इन्स्योरेन्सको ४ दशमलव ५४ प्रतिशतले बढदा डेभलपमेन्ट,फाइनान्स,हाइड्रोपावर,लाइफ इन्स्योरेन्स,मनु एन्ड प्रो र ट्रेडिङ उपसमूहको सूचक ३ प्रतिशत बढिले बढ्यो।

यस्तै, आज २१७ कम्पनीको मूल्य बढ्दा ३ को मात्रै घट्यो।

Back to top button