प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलोः प्रोटोकल भद्रगोलः केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फितलो रहेको टिप्पणी गर्नुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले देश उत्साहित हुनुपर्ने ठाउँमा तरङगीत् बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमण अभिव्यक्तिले तरङगीत पैदा गरेको छ । बंगलादेश जाने बाटोसँग लिम्पियाधुरा लिपुलेक सट्टापट्टा गर्न सकिने अभिव्यक्तिहरू प्रधानमन्त्री ज्यूबाटै आइरहेका छन् । बंगलादेश जाने बाटो वा पारवहन सम्झौता सट्टापट्टाको विषय होइन । आफ्नो जमिन अर्कालाई दिने भन्ने कुरै हुँदैन । र, कानुनमा पनि यस्तो कुरा हुँदैन ।’

उहाँले सिमाना मिचिदा हामी बोल्न नहुने भन्दै प्रश्न गर्नुभयो । यस्तै उहाँले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको उपलब्धि भनेको १५ वटा राँगा ल्याउनुमात्र रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ ।’ मोतीहारी अमलेखगञ्ज पाइपलाइन पहिले नै बनेकाले त्यसलाई चितवनसम्म विस्तार गर्नु ठूलो कुरा नभएको भन्दै एमाले अध्यक्ष ओलीले के के न ल्याए जस्तो प्रचार मात्र गरेर नेपाललाई फाइदा नहुने बताउनुभयो ।

यसैगरि अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा क्रममा प्रोटोकल समेत भद्रगोल भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीज्यू अत्यन्त फितलोरुपमा प्रस्तुत हुनुभयो । हाम्रो प्रोटोकल नै भएन । तरिकाहरु मिलेन । परराष्ट्रमन्त्री कता छन् थाहा छैन, अर्थमन्त्री कता हुन्, नेताहरु कता हुन्, छोरीलाई सँगै राख्नुभएको छ । पीए राख्नुभएको छ, मन्त्री र सचिव छैनन् ।’

उहाँले फर्स्ट लेडीको स्थानमा छोरीलाई राख्नु सान्दर्भिक नरहेको टिप्पणी गर्नुभएको हो । उहाँले वार्तामा परराष्ट्रमन्त्री, सचिव, शिष्टाचार महापाल, नोट मेकर हुनुपर्ने भन्दै उहाँले प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो,‘मोदीसँग गरेको कति तपाईंले कति सम्झिनुयो ? अहिले भनेको कुरा फेरि दोहोर्याएर त्यही शब्दमा भन्न सक्नुहुन्छ रु त्यसैले आधिकारिक रेकर्ड हुनुपर्छ ।’

Back to top button