एसियन कप छनोटः आज नेपाल र म्यान्माबिच प्रतिस्पर्धा

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछन्।

नेपाल र म्यान्माबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ। नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा चीन, म्यान्मा र चाइनिज ताइपेइ छन्।

नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो।

नेपाली टोलिका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको जनाउँदै हरेक खेल जित्नकै लागि खेल्ने बताउनुभयो। उहाँले भन्नसभयो,‘फिफा वरियतामा हामीभन्दा माथि भएका टिम छन् तर हामी उच्च मनोबलका साथ मैदान उत्रने छौँ।’

नेपाली टोलीको गोलरक्षकमा कविता विक, लीला जोशी र सावित्री किसान हुनुहुन्छ भने डिफेन्डरमा सविना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर र कुमारी तामाङ हुनुहुन्छ।

यसैगरी मिडफिल्डरमा सरस्वती हमाल, मनमाया दमाईं, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य र अञ्जली मचामासी हुनुहुन्छ। फरवार्डमा गरिमा राई, अमिषा कार्की, ममता पुन र सन्दिपा भोलान हुनुहुन्छ।

यसैगरी नेपाले यही जेठ २५ गते चीनसँग खेल्नेछ भने यही जेठ २७ गते चाइनिज ताइपेइसँग खेल्नेछ।

Back to top button