बजेटले जनता र व्यवसायीलाई राहत दिन सकेन : सांसद लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले जनता र व्यवसायीमा आशा पैदा गर्ने खालको बजेट नआएको बताउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले करको दर र दायरा बढाउने नाममा बजेटले निराश जनता र व्यवसायीलाई आशा नदिएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘निराश जनता र व्यवसायीलाई आशा पैदा गर्ने खालको बजेट छैन । बजेट बनाउने भनेको देशको सुदूर भविष्यलाई हेरेर हो । बजेट निर्माण गर्दा विगतलाई आधार मान्नुपर्छ । चालु आर्थिक वर्षको राजस्व असुली हेर्दा बजेट सन्तोषजनक छैन ।’

सांसद लिङ्देनले हवाइ टिकटमा भ्याट लगाउने कुरा उल्लेख भएको भन्दै यसले पर्यटक आगमनमै प्रभाव पर्ने बताउनुभयो ।

उहाँले भननुभयो,‘अर्थमन्त्रीज्यूले करको दर र दायरा बढाउने कोशिस गर्नुभएको छ । करको दर र दायरा बढाउँदा यसले एकातिर करको दर बढ्ने देखिन्छ भने अर्कोतिर दुष्प्रभाव असर पर्ने देखिन्छ । हवाइ टिकटमा भ्याट लगाउने कुरा गर्नुभएको छ । यसको कारण पर्यटक आउने क्रममा प्रभाव पर्‍यो भने असुली बढि हुन्छ कि नोक्सानी? यसमा ध्यान पुर्‍याउन किन नसकिएको?’

उहाँले आफूहरूले नागरिकता विधेयक प्रक्रियाको विरोध गरेको बताउनुभयो । लिङ्देनले भन्नुभयो,‘राष्ट्रपति व्यक्ति होइन संस्था हो । एउटा राष्ट्रपतिले प्रमाणीकरण नगरेको विधेयक अर्को राष्ट्रपतिले प्रमाणीकरण के आधारमा गर्नुभयो? यो कुरा संसद्ले थाह पाउनुपर्छ । ’

उहाँले बिजुली कसरी भारतलाई जिम्मा लगाउनेमा मात्रै सरकारको ध्यान गएको बताउनुभयो।

Back to top button