लुम्बिनी सरकारको नीति तथा कार्यक्रम सार्वजनिकः कृषि प्राथमिकतामा, लुम्बिनी भ्रमण दशक मनाउने

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभासमक्ष पेश गर्नुभएको हो । नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ ।

यस्तै, लुम्बिनी भ्रमण दशक मनाउने,बृहत् ‘बुद्ध सर्किट’विकास गर्न र कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न संघसँग समन्वय गर्ने साथै अन्तर्राष्ट्रिय करुणा तथा शान्तिकेन्द्र स्थापना गर्न अध्ययन गरिने उल्लेख छ ।

प्रदेश प्रमुख शेरचनले ‘बिरामी होइन स्वस्थ हुने प्रतिस्पर्धा गरौं’भन्ने अभियान सञ्चालन गरिने बताउनुभयो । रोजगारी सिर्जना गर्ने नवीनतम उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ ।

प्रदेशका १२ वटै जिल्लामा साना सिंचाइ आयोजनामार्फत् ३ सय हेक्टर सिंचित क्षेत्र विस्तार र सम्पन्न भएका ठूला सिंचाइ आयोजना बाणगंगा, प्रगन्ना, बबई, सिक्टा सिंचाइको प्रभाव क्षेत्रमा उपयुक्त बाली चक्रमार्फत् २ हजार हेक्टर क्षेत्रफलमा बाली सघनता वृद्धि गर्ने कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गरिने उल्लेख छ ।

Back to top button