
काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले अब सुरुङ युगमा जान आवश्यक रहेको बताउनुभएको छ ।
आज बिहान नागढुंगा सुरुङ मार्ग निर्माणको अवलोकन गर्न पुग्नुभएका सांसद वाग्लेले आर्थिक समृद्धिका लागि सुरुङ मार्गले सहयोग पुर्याउने भएकोले यसको महत्व भएको बताउनुभयो ।
यो आयोजना महत्वपूर्ण आयोजना भएको उहाँको भनाइ छ । यसले समयको बचत र ध्वनी प्रदूषण पनि कम हुने बताउँदै अब टनेल टेक्नोलोजीमा जानुपर्ने बताउनुभयो ।
सुरुङ मार्गले दूरी घट्ने हुँदा इन्धनको बचत हुने उहाँले बताउनुभयो । नागढुंगा सुरुङ मार्ग पाइलट प्रोजेक्टको रुपमै रहेको बताउँदै उहाँले यसबाट शिक्षा लिनु पर्ने बताउनुभयो ।
यस्तै, मार्गको निर्माण समयमै सम्पन गर्न आफूहरूले भूमिका खेल्ने उहाँले बताउनुभयो।
सांसद वाग्ले रास्वपाका सभापति रवि लामिछानेसहित सुरुङ मार्गको अवलोकन गर्न पुग्नुभएको थियो ।