नेपालमा रासायनिक मल कारखानाको आवश्यकता छैन : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यकता नभएको बताउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले अर्गानिक मल कारखानाको भने अवश्यकता रहेको औंल्याउनुभयो।

हामीसँग भएका स्रोत र साधनलाई परिचालन गरेर अर्गानिक मल कारखाना भने नेपालले बनाउन सक्ने उहाँको भनाइ थियो।

उपमहासचिव शर्माले कृषिमा आधारित उद्योग स्थापनाका लागि संघीय सरकारले अध्ययन, अनुसन्धान र बजेटको व्यवस्था गर्ने, प्रदेश सरकारले प्रशोधन उद्योगहरू स्थापना गर्ने, कोल्डस्टोरहरू स्थापना गर्ने र स्थानीय सरकारले त्यसको उत्पादनमा जोड दिनुपर्ने आवश्यकता समेत औंल्याउनुभयो। ‘आज रासायनिक मल कारखानाको कुरा आइराखेको छ।

नेपालमा रासायनिक मल खारखानाको आवश्यकता छैन। अर्गानिक मल कारखानाको आवश्यकता छ। हामीसँग भएका स्रोत, साधनहरूबाट, खनिजबाट हामी अर्गानिक मल कारखाना बनाउन सक्छौ’, उहाँले भन्नुभयो,‘त्यतातर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। कृषिमा आधारित उद्योगलाई संघले अध्ययन र अनुसन्धान गर्ने, विज्ञहरूको उपलब्धता गराउने र प्रदेशले प्रशोधन उद्योगहरू स्थापना गर्ने, कोलस्टोरहरू बनाउने र स्थानीय सरकारले उत्पादनमा जोड दिने, बाँझो जमिनको प्रयोगमा ध्यान दिनु पर्दछ।’

उपमहासचिव शर्माले कृषि अनुदानको दूरुपयोग हुन नदिन पनि सरकारलाई सचेत गराउनुभयो।

Back to top button