विदेशबाट मतदान, मतपत्रमा नो भोटको व्यवस्था : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले चुनाव हुने दिन कानुनमै तोक्नुपर्ने बताएको छ । आयोगको आजको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा समावेश गर्नुपर्ने विषयहरुबारे निर्णय गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार निर्वाचन हुने दिन र निर्वाचन प्रचार–प्रसारको अवधि विधेयकमै किटान गर्नुपर्ने आयोगको निर्णय छ ।

विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्ने र कूटनीतिक नियोगको सहयोगमा विदेशबाटै प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्ने समेत आयोगको निर्णय छ ।

आयोगले मतपत्रमा नो भोटको व्यवस्था गर्ने र स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरुका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गर्ने समेत निर्णय गरेको छ ।

Back to top button