
काठमाडौं । फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिनुभएको छ । उहाँ हिजो राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिनुभयो ।
घटनास्थलको मुचुल्कापछि उहाँको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । उहाँको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भइरहेको एसपी रिजालले जनकारी दिनुभयो ।
फिल्म ‘रानी’बाट अभिनय करिअर थाल्नुभएका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गर्नुभएको छ । उहाँ पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त हुनुहुन्थ्यो। यो फिल्मको अहिले ४५ प्रतिशत मात्र छायांकन सकिएको छ ।
सारुक पाका अभिनेता सानु ताम्राकारको छोरा हो । बुबाको विरासत पछ्याउँदै उहाँ फिल्म अभिनयमा आइपुग्नुभएको थियो ।