केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने माओवादी केन्दको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठक बस्नु अगाडि बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रत्यक्ष प्रशारण नगर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो।

कांग्रेसपछि माओवादीले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको थियो। तर, पार्टी पदाधिकारी बैठकले लाइभ गर्ने निर्णय गरेपछि लाइभ गर्ने र नगर्ने विषयमा विवाद भएपछि आजको बैठकले नगर्ने निर्णय गरेको हो।

पछिल्लो समयमा सुन प्रकरणमा माओवादीका उच्च तहका नेताहरुनै संलग्न भएको र बैठक लाइभ गर्दा छलफलका आन्तरिक विषय बाहिर सार्वजनिक हुँदा आलोचना हुने डरले माओवादी पछि हटेको हो।

यस्तै, बैठकमा सबै केन्द्रीय समिति सदस्यलाई बोल्नका लागि ५–५ मिनेटको समय दिइने निर्णय गरिएको छ।

यस अघि सचिव डिलाराम आचार्यले बैठकमा एक कुरा गर्ने र मिडिया, सामाजिक सञ्जालमा नेताहरूले अर्को कुरो बोल्ने र लेख्ने गरेकाले बैठक लाइभ गर्ने निर्णय भएको जानकारी दिनुभएको थियो। सचिव आचार्यले भन्नुभएको थियो,‘नेताहरूका पछाडि पार्टीले मान्छे पनि खटाउन सक्दैन। बाहिर बोलेका कुराले कतिपय अवस्थामा राजनीतिक जटिलता आउँछ। त्यसैले केन्द्रीय समितिको बैठकलाई लाइभ गर्ने निर्णय पारित गरिएको हो।’

Back to top button