माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ। समसामयिक राजनीति, सरकारका कामकारबाही र संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न संसदीय दलको बैठक बसेको बताइएको छ ।

सुन तस्करी प्रकरणको विषयलाई लिएर विपक्षीले निरन्तर संसद अवरोध गरिरहेको विषयलाई लिएर माओवादी केन्द्रका सांसदहरु छलफलमा जुटेका हुन्। अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरिरहनुभएको छ । प्रतिनिधि सभाको बैठक आजपनि बस्दै छ। संसदमा उठाउनुपर्ने विषयका बारेमा पनि संसदीय दलको बैठकमा छलफल हुने बताइएको छ।

यस अगाडिको प्रतिनिधि सभाको बैठकमा एमाले र राप्रपाका सांसदहरुले सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीहरु र माओवादी कै उच्च तहका नेताहरु सामेल भएको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनका लागि रुलिङ गर्न माग गरेका थिए। तर, सभामुखले शुन्य समयको कारवाही अघि बढाउन खोजेपछि एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए।

प्रमुख प्रतिपक्ष दल एमालेको अडानप्रति सत्तापक्ष असहमत भएपछि सरकारकै आग्रहमा सभामुख देवराज घिमिरेले पटक–पटक प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गर्दै आउनुभएको छ ।

भन्सारकै गोदाममा इलेक्ट्रिक सिगरेट (भेप) साटफेर गरेर सुन तस्करी गरेको प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ नगरेको र १०० किलो सुन प्रकरणमा पनि माओवादी नेतृत्व संलग्न भन्दै विपक्षीले छानबिनको माग गर्दै निरन्तर संसद अवरुद्ध गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदामबाट इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ल्याएको करिब ९ किलो सुन हराएपछि उक्त प्रकरणमा संलग्न चिनियाँ व्यापारी समेत रहेका तस्करसँग महरा बाबुछोराले पटक–पटक टेलिफोन सम्पर्क गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। तर, हालसम्म प्रहरीले महरा बाबुछोरालाई पक्राउ गरेर अनुसन्धान गरेको छैन।

उक्त प्रतिवेदनको आधारमा समाचार प्रकाशित भएपनि महराले उक्त प्रकरणमा रहेको नाम र उल्लेख गरिएको फोन नम्बर आफ्नो नभएको दाबी गरिरहनुभएको छ ।

हालको अनुसन्धान प्रक्रियाबाट निष्कर्षमा पुग्न नसकिने भन्दै एमाले र राप्रपाले तस्करी भएको सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानवीन समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने र सरकारले जवाफ दिनुपर्ने बताउँदै आएको छ। तर, गृहमन्त्री नारायणकाजी श्रेष्ठ वा सरकारको तर्फबाट कसैले संसदमा हालसम्म जवाफसमेत दिएका छैनन्।

यस्तै, संसदको गतिरो हटाउन सभामुख घिमिरेले दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छलफलका लागि बोलाउनुभएको छ । बैठकमा प्रमुख सचेतक वा सचेतकसमेत सहभागी हुनेछन्।

Back to top button