
विराटनगर । विराटनगर– ११ स्थित श्री जनपथ माविको व्यवस्थापन समितिको अध्यक्षमा पुनः रोहित कोइराला चयन हुनुभएको छ ।
विद्यालयमा आज सम्पन्न बैठकले अध्यक्षमा कोइरालालई चयन गरेको हो । यो संगै कोइराला दोस्रो कार्यकालका लागि व्यवस्थापन समितिको अध्यक्ष बन्नुभएको छ । यसअघि उहाँ २०७६ फागुन १० गते पहिलो कार्यकालको अध्यक्ष बन्नुभएको थियो ।
पहिलो तीन वर्षीय कार्यकालमा विद्यालय भवनको जिर्णोद्वार, रङरोगन, विद्यालय भवन निर्माण, विद्यालय मैदान पुर्ने र ब्लक बिछ्याउने, बास्केटबल, ब्याडमिन्टन कोर्ट निर्माण गर्नेदेखि खेलकुदका विभिन्न सामाग्रीहरुको बन्दोबस्त मिलाउन सक्षम हुनुभएका कोइरालाले शैक्षिक गुणस्तर कायम गर्न निरन्तर शिक्षक शिक्षिकाहरुसँग अन्तरकृया, क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यशाला सञ्चालन, डिजिटल बोर्डको प्रयोग गर्दै पठनपाठन सुधारका कामहरु गर्नुभएको थियो ।
अधिकांश विपन्न तथा पछाडिपारिएका समुदायका बालबालिका अध्ययन गर्ने यस विद्यालयमा नेपाली तथा अंग्रेजी दुवै माध्यममा शिशुदेखि कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ । १३५० विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा भौतिक पूर्वाधारका सवालमा केहि काम बाँकी रहेको भन्दै अध्यक्ष कोइरालाले भन्नुभयो,‘अपूरा काम पूरा गर्नुछ, केही नयाँ कामको गर्ने लक्ष्य छ ।’
उहाँका अनुसार विद्यालय परिसरको पश्चिमपटि निर्माणाधिन भवनको काम सम्पन्न गर्नुपर्ने, पूर्वतर्फको कम्पाउण्ड वाल निर्माण गर्नुपर्ने छात्र शौचालय निर्माण, दक्षिणपटिको भवनको रंगरोगन गर्नुपर्ने जस्ता कामहरु प्राथमिकतामा छन् ।
यस्तै जनपथ माविमा पश्चिम–दक्षिण क्षेत्रका विद्यार्थीहरु धेरै टाढा देखि आउने गरेको भन्दै कम्तिमा दुई वटा विद्यालय बस सञ्चालन गर्नुपर्ने आवयश्कता रहेको भन्दै त्यसका लागि समेत पहल गरिने अध्यक्ष कोइरालाले बताउनुभयो ।
तीन वर्षीय कार्यकाल रहने विद्यालय व्यवस्थापन समितिमा प्रधानाध्यापक, वडा अध्यक्ष वा प्रतिनिधि र शिक्षक प्रतिनिधि पदेन सदस्य रहने ब्यवस्था रहेको छ । यस्तै अभिभावकहरू ( विद्यार्थीको बुवा–आमा वा घर तर्फको हजुरबुबा– हजुरआमा) बाट दुई महिला सहित चार जनालाई अभिभावक भेलाबाट छनौट गरिन्छ ।
यसरि बन्ने ७ सदस्यीय समितिले स्थानीय समाजसेवी, चन्दादाता, स्थानीय अभिभावकहरु मध्येबाट एक महिलासहित दुई जनालाई मनोनित गरिन्छ । ९ जनाको समितिको बैठक बसेर अध्यक्ष चयन गरिन्छ ।
पदेन सदस्य रहेका तीन जनाले अध्यक्ष बन्न पाउने छैनन । यस्तै अध्यक्ष बन्ने व्यक्तिले उक्त विद्यालयमा अध्ययापन हुने माथिल्लो कक्षा बराबरको शैक्षिक योग्यता कम्तिमा पूरा गरेको हुनुपर्नेछ ।
यसरी अभिभावक भेलाबाट जसबहादुर राई, राम पासवान, कलावती साह र सुमित्रा पासवान सदस्य चयन हुनुभएको हो भने रोहित कोइराला र जानुका बर्तौलालाई सदस्यमा मनोनयन गरिएको हो ।