
काठमाडौं । विदेशी भलिबल प्रशिक्षक हान अबिङ नेपाल आइपुग्नुभएको छ । १९औं एसियन गेम्समा नेपाली भलिबल टोलीको प्रशिक्षकको रुपमा रहनुभएका नेदरल्याण्ड्सका प्रशिक्षक हान आज काठमाडौं आइपुग्नुभएको नेपाल भलिबल संघले जनाएको छ ।
उहाँलाई राष्ट्रिय टिमका प्रशिक्षक जगदिश भट्ट र राष्ट्रिय पुरुष टिमका ट्रेनर रुपेश विष्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हान्झाउमा हुने १९औं एसियन गेम्समा हान अबिङ नेपालको पुरुष टिमको प्रशिक्षकको भूमिकामा हुनुहुन्छ । तर, उहाँको अनुपस्थितिमा अर्का बेल्जियन प्रशिक्षक यान डी ब्रान्ट र जगदिश भट्ट, भरत यादवले पुरुष टिमलाई प्रशिक्षण दिइरहनुभएको छ ।
यस पटक नेपाली टिमको कप्तानमा मान बहादुर श्रेष्ठ हुनुहुन्छ । नेपालको पुरुष टिमले लगातार दोस्रो पटक एसियन गेम्स खेल्न लागेको हो भने महिला टिमले पहिलो पटक एसियन गेम्स खेल्दैछ ।
यस्तै, हान अबिङले एसियन गेम्सपछि श्रीलंकामा हुने काभा पुरुष भलिबल च्यालेन्ज कपमा पनि नेपाली पुरुष टिमको प्रशिक्षण सम्हाल्ने भलिबल संघले जनाएको छ । हान अबिङ तेस्रो पटक नेपाल आउनुभएको हो । यसअघि उहाँले एभिसी सेन्ट्रल जोनमा २ पटक नेपाली पुरुष टिमको प्रशिक्षक भएर काम गर्नुभएको थियो।