
काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता लौह पुरुष गणेशमान सिंहको २६औं स्मृति दिवसका अवसरमा काठमाडौं जिल्लाव्यापी अन्तरपालिका फुटसल प्रतियोगिता आयोजना हुने भएको छ।
काठमाडौं जिल्ला नेपाल तरुण दलको आयोजनामा हुने प्रतियोगितामा काठमाडौंका ११ पालिकाको सहभागिता रहने नेपाल तरुण दल काठमाडौं जिल्ला अध्यक्ष कृष्णजी खड्काले जानकारी दिनुभयो।
भदौ ३० गते काठमाडौं महानगरसहित ११ वटै पालिकामा वडास्तरीय प्रतियोगिता सञ्चालन हुने र त्यो प्रतियोगिताको विजेता टोलीले सिंहको २६औं स्मृति दिवसका दिन असोज २ गते प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक सन्तोष बुढाथोकीले जानकारी दिनुभयो। प्रतियोगिताका विजेताले २ लाख २२ हजार २ सय २२ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन्।
यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन्। एक दिने प्रतियोगिताका खेलहरू बालुवाटारको ढुकु फुटसलमा सञ्चालन हुनेछ। काठमाडौं जिल्लाका ११ पालिकाका १ सय ३८ वडाबीच हुने बृहत प्रतियोगिता सञ्चालनका लागि १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिता संयोजक बुढाथोकीले बताउनुभयो ।
त्यसैगरी, २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर सिंहको २०५४ साल असोज २ गते ८२ वर्षको उमेरमा निधन भएको थियो। सो दिनलाई नेपाली कांग्रेस र पार्टीका विभिन्न भातृ संगठनले स्मृति दिवसका रूपमा मनाउने गरेका छन्।