मोरङमा पोखरीमा डुबेर २ बालिकाको मृत्यु

विराटनगर । मोरङमा पोखरीमा डुबेर आज २ बालिकाको मृत्यु भएको छ ।

ग्रामथान गाउँपालिका–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयो।

उहाँका अनुसार दुवै जना बालिकालाई ग्रामथान–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर घाइते भएको अवस्थामा बिहान ११ः३० बजेतिर फेला पारिएको थियो।

पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएका उनीहरुलाई प्रहरी र स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएका थिए। अस्पताल ल्याइपुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्।

मृतक दुवै जनाको शवलाई कोसी अस्पतालमै राखेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताउनुभयो। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्सपेक्टर तेज दाहाल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ।

Back to top button