देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्छौ : अर्थमन्त्री महत

ललितपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताउनु भएको छ।

आज ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित बज्रवाराही चापागाउँ अस्पतालको प्रस्तावित भवनको शिलान्यास कार्यक्रममा महतले विकास निर्माणका योजना सञ्चालन गर्दा सरकारले देशको हित अनुकूल जनताको आवश्यकतालाई ध्यानमा राखेर काम गर्ने बताउनु भएको हो ।

“देशका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सुविधा सुनिश्चित गर्नु आवश्यक छ, क्षमताभन्दा हाम्रो आवश्यकता बढी छ, गत वर्ष राजश्व काम उठेको थियो, जसले मागअनुसार सम्बोधन गर्न केही कठिनाइ भइरहेको छ, अहिले अवस्था सुधार हुँदै छ, यति हुँदाहुँदै पनि भएको स्रोतलाई परिचालन गर्दै देश र जनतालाई केन्द्र विन्दुमा राखेर काम गर्ने कुरामा प्रतिबद्ध छौँ”, अर्थमन्त्री डा महतले भन्नु भयो ।

महतले नेपालमा रहेका सम्भावना र रोजगारी सिर्जना गर्ने काममा सकारात्मक सन्देश र बहस हरेक तहबाट हुनु आवश्यक रहेको धारणा राख्दै यसले आत्मविश्वास बढ्नेमा जोड दिनु भयो । आर्थिक गतिविधिको चक्र चलायमान बनाउन देशभर सबैको आत्मविश्वास बढाउनु आवश्यक रहेको उल्लेख गर्दै महतले यसमा सबै नागरिकहरुको भूमिका रहेको धारणा राख्नु भयो ।

महतले २०५२ सालमा नेपालीको आयु सरदर ५४ वर्ष रहेकामा अहिले बढेर ७१ वर्ष पुगेको जनाउँदै आगामी दिनमा अझै यो सूचक राम्रो बनाउन हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सुविधा सुनिश्चित गर्नु आवश्यक रहेको धारणा राख्नु भयो ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले अस्पतालको भवन निर्माणका लागि बजेटको कुनै कमी र अभाव हुन नहुने बताउनु भयो । फुयाँलले घना बस्तीका जनतालाई प्रभावकारी स्वास्थ्य सेवा दिन भवन चाँडै बन्नु आवश्यक रहेकामा जोड दिनु भयो ।

नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले रु १७ करोड ५० लाखको लागतमा निर्माण हुने यो भवन निर्माणका लागि यस वर्ष बागमती प्रदेश सरकारबाट यस वर्ष रु तीन करोड ५० लाखको बोलपत्र आव्हान गरिएको जानकारी गराउनु भयो । जिल्ला अस्पतालको सेवासमेत प्रदान गर्ने बज्रवाराही चापागाउँ अस्पतालमा बहिरङ्ग सेवा र आकस्मिक सेवा लगायतका सेवा सञ्चालन भइरहेका छन् ।

Back to top button