
विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले एघारौँ विज्ञान दिवस विभिन्न प्रतिस्पर्धाहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गर्दै मनाएको छ । आज कलेजमा आयोजित कार्यक्रममा ओजोन तह संरक्षण दिवस (१६ सेप्टेम्बर)का अवसरमा गरिएको निबन्ध प्रतियोगिताका उत्कृष्ट प्रतिस्पर्धीहरुलाई पुरस्कृत गरिएको हो।
‘ओजोन तह विनाश र यसका संरक्षणका उपायहरु’ शीर्षकको निबन्ध लेखन प्रतियोगितामा प्रथम हुने एन्जल राई, द्वितीय सपना कटुवाल र तृतीय सुगम ढकाललगायत सान्त्वना पुरस्कार प्राप्त गर्ने आठ जना गरी जम्मा ११ जनालाई पुरस्कार वितरण गरिएको थियो । उक्त प्रतियोगितामा छ दर्जन विद्यार्थीहरुले भाग लिएका थिए भने निर्णायकको भूमिका डिग्री क्याम्पस प्राणी विज्ञानका उपप्राध्यापक मिलन खरेलले निर्वाह गर्नु भएको थियो।
त्यसैगरी विज्ञान दिवसकै अवसरमा भाद्र महिनाका प्रत्येक शनिवार सञ्चालित चिकित्सा विज्ञान तथा इन्जिनियरिङका पूर्वतयारी कक्षाको परीक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरु पनि पुरस्कृत भएका छन् । उक्त परीक्षाहरुमा चिकित्सा विज्ञानतर्फ सुशीलकुमार यादव, रवीनकुमार यादव,पृथ्वीनारायण मण्डल र आदर्श सिंहले उत्कृष्टताको पुरस्कार प्राप्त गर्नु भएको थियो । इन्जिनियरिङ्तर्फ निश्चल आचार्य, प्रशान्त कार्की, निर्णय श्रेष्ठ र प्रियङ्काकुमारी भगतले उत्कृष्ट अंक प्राप्त गरी पुरस्कृत हुनु भएको थियो ।
कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, चिफ एकाडेमिक निर्देशक रमेशकुमार मण्डल, विज्ञानका कोअर्डिनेटर नवीनकुमार राय तथा अग्रज प्राध्यापकहरुले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो।
प्रिन्सिपल खड्काले शिक्षादीप कलेजले विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रष्फुटन गराउने र उनीहरुको चौतर्फी विकासका लागि वर्षैभरिका सान्दर्भिक दिवसहरु विद्यार्थीहरुको प्रतियोगात्मक सहभागितामा मनाउने गरिएको बताउनु भएको थियो ।
सोहि कार्यक्रममा ओजोन तह संरक्षण दिवस र विज्ञानको दिवसको इतिहास तथा वर्तमान सन्दर्भका बारेमा निर्देशक रामचन्द्र अधिकारीले धारणा ब्यक्त गर्नु भएको थियो।
यस वर्षको राष्ट्रिय विज्ञान दिवस ‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशिला’ भन्ने मूल नाराका साथ मनाइँदै छ ।