
काठमाडौं । सभामुख देवराज घिमिरेले तीज महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रुपमा विकास हुँदै गइरहेको बताउनुभएको छ । हरितालिका तीजको शुभकामना दिँदै उहाँले मौलिक संस्कृति अनुरुप हरितालिका पर्व मनाउँदा तीजको महत्त्व झन् बढ्दै जाने विश्वास व्यक्त गर्नुभएको हो ।
यस पर्वको धार्मिक–साँस्कृतिकसँगै सामाजिक चेतना अभिवृद्धि गर्नका लागि पनि महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
‘तीज बालीनाली रोपिसकेपछि फुर्सदको समयमा मनाइने पर्व हो । तर, यस पर्वको धार्मिक–साँस्कृतिकसँगै सामाजिक चेतना अभिवृद्धि गर्नका लागि पनि महत्त्वपूर्ण रहेको छ । लैंगिक तथा पारिवारिक विभेदहरुलाई तीजका अवसरमा विभिन्न माध्यमद्वारा सार्वजनिक गर्ने चलन रहेको थियो । तसर्थ तीज महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रुपमा समेत विकास हुँदै गएको छ ।’
तीज हिन्दूहरुको मौलिक संस्कृतिमा आधारित पर्व हो । हाम्रा मौलिक पर्वहरुलाई भावी पुस्तामा हस्तान्तरण गर्दै समयक्रममा विकास भएका कतिपय तडकभडकको शैली भने त्याग्न जरुरी छ । मौलिक संस्कृति अनुरुप हरितालिका पर्व मनाउने संकल्प गरेमात्र तीजको महत्त्व झन् बढ्दै जाने विश्वास लिएको छु ।’शुभकामना सन्देशमा भनिएको छ,‘तीजले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीति अन्त्य गरी समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् भन्ने कामना गर्दछु ।’