
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनमा कठिनाई भएका विषय संशोधन गर्न सकिने बताउनुभएको छ ।
आज दिउँसो संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित ‘सुवास र संविधान’विषयमा प्रवचन कार्यक्रममा ओलीले देशप्रति राजनीतिक दल जिम्मेवार बनेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।
उहाँले केहि न केहि त्रुटी र कमजोरी हरेक संविधानमा हुने गरेकाले सच्याउन सकिने बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनक्रममा देखा परेका नमिल्दा र व्यवहारमा त्रुटी देखिएका विषय संशोधन गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँले भनेकहिले कहिले कि त संविधानको चर्को विरोधमै मात्र गर्ने कि त संविधानको समर्थन गरेपछि संशोधन पनि हुँदैन भन्ने ठान्ने। यी दुवै कुरा ठिक होइन।’
अध्यक्ष ओलीले संविधान जारी नगर्न संविधान सभाका अध्यक्ष नेम्वाङलाई दबाब आएको स्मरण गर्दै उहाँले दबाबकै बीच संविधान ल्याइएको बताउनुभयो। उहाँले जीवन बलिदान र कठिनाईबाट अहिलेको संविधान निर्माण भएको र उपलब्धि गुम्न दिन नहुने बताउनुभयो।
उहाँले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यमा देशलाई पुर्याउन एमाले प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले देशको भूमी, राष्ट्रियता, देशको सार्वभौम सत्ता, राष्ट्रिय हित र स्वाभिमान रक्षा गर्न र सुशासन ल्याउन एमाले प्रतिबद्ध रहेको दोहोर्याउनुभयो।
अध्यक्ष ओलीले भन्नुभयो,‘देशमा राष्ट्रिय एकता खलबलिन हामी दिन सक्दैनौं। अरुको स्वार्थमा लागेर हाम्रो देशमा हिंसा भड्काउने प्रयास जुनसुकै रंग र भेषमा भएपनि एमाले र जनतालाई स्वीकार्य छैन। यस्ता चिज रोक्न एमाले लागिपर्छ।’