जायज माग सम्बोधन गरेरै शिक्षा विधेयक दर्ता गरिएको हो : मन्त्री खड्का

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विद्यालय शिक्षासम्बन्धी विधेयकमा सरोकार वालाहरुको जायज मागलाई समावेश गरिएको बताउनुभएको छ ।

राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले एक महिनासम्म सरोकारवालासँग छलफल गरेर विधेयक तयार गरिएको भन्दै विधेयकमा सबैको भावना र मागलाई समेट्ने प्रयास गरेको बताउनुभएको हो ।

सो विधेयकमाथि प्राप्त सुझाव र आवाजलाई ध्यान दिएर आफू नेतृत्वको कार्यदलले परिमार्जनसहित जायज माग सम्बोधन गरेरै विधेयक दर्ता गराएको समेत उहाँको भनाई छ। मन्त्री खड्काले विधेकयमा केही कमी भए वार्ता र छलफलबाट सम्बोधन गर्न सकिने पनि भन्दै आन्दोलनका कार्यक्रम फिर्ता दिन शिक्षक महासंघलाई आग्रह गर्नुभयो ।

उहाँले विधेयकमाथि महासङ्घका के कस्ता असन्तुष्टि छन् भन्ने सरकारलाई थाहा नभइ आकस्मिकरुपमा विद्यालय बन्दलगायतका विरोधका कार्यक्रम घोषणा गरेको बताउनुभयो।

मन्त्री खड्काले शिक्षा क्षेत्रको विकासका निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै निजी क्षेत्रको शिक्षालाई पनि सर्वसुलभ बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको जिकिर गर्नुभयो । सरकार संविधानमा मौलिक हकका रुपमा रहेको अनिवार्य र निःशुल्क शिक्षाको कार्यान्वयन गराउन प्रतिबद्ध रहेको उहाँको भनाई छ।

यस्तै, शिक्षक महासंघले असोज ३ गतेदेखि विद्यालय बन्दलगायत विरोधका कार्यक्रम घोषणा गरिसकेको छ।

Back to top button