जापान पठाइदिने भन्दै रकम ठगी गर्ने २ जना पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा जापान पठाइ दिने भन्दै रकम ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– २९ मैतीदेवी बस्ने खोटाङ साकेला गाउँपालिका–१ का राजकुमार गुरूङ र सोही ठाउँ बस्ने इटहरी उपमहानगरपालिका–१९ का उदय गुरूङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरू वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै टेकप्रसाद गौतमबाट २ लाख ७० हजार रुपैयाँ लिइ फरार रहेका थिए। ठगी गरेको उजुरीका आधारमा राजकुमार र उदयलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र मिश्रले जानकारी दिनुभयो ।

उनीहरूलाई प्रहरीले आज दिउँसो घट्टेकुलोबाट नियन्त्रणमा लिएको हो। वैदेशिक रोजगारीका लागि जापान जान १५ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि कुकमा काम लगाइदिने र मासिक १ लाख तलब हुने आश्वासन दिइ रकम ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

Back to top button