संविधान संशोधनमा हतार गर्नुपर्ने छैन : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्ने बेला नभएको बताउनुभएको छ । आज पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा पार्टी कार्यालयमा गरिएको कार्यक्रममा उहाँले अब संविधान संशोधन गर्दा विचार पु¥याएर मात्र गर्नुपर्ने बताउनुभएको हो ।

यसअघि तत्कालिन आवश्यकता पूरा गर्न दुई पटक संविधान संशोधन गरिएको भन्दै ओलीले भन्नुभयो,‘अब संविधान संशोधन गर्दा अलिकति बढी, तत्काल चाहिएको विषय मात्र होइन, केही विषय राम्रै छलफल गरेर संविधान गर्नुपर्छ ।’

उहाँले अगाडि भन्नुभयो,‘एउटा हिसाबले बेला भएको छ कि छैन के लाग्छ ।’

अहिले पनि मुलुकमा गम्भीरता भन्दा भावनात्मक विचार, प्रायोजित र आयातीत कुराबाट दबाब दिने प्रवृत्ति देखिएको भन्दै उहाँले यस्तो बेला संविधान संशोधन गर्नु उचित नहुने धारणा राख्नुभयो ।

‘आयातीत कुराबाट प्रेसर गर्ने प्रवृत्ति पनि देखिएको हुनाले, अनेक प्रकारका बेठीक उद्देश्य देखिएकाले तत्काल समुचित ढंगले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने गम्भीर प्रश्न छ, त्यसैले यसमा कुनै हतारो गर्नुपर्ने छैन’ अध्यक्ष ओलीले भन्नुभयो ।

Back to top button