संविधान दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको मन्तव्य

आदणीय दिदीबहिनी तथा दाजुभइहरु ,

आज नवौ संविधान दिवस । नेपाली जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त संविधान सभाबाट संविधान निर्माण गरी २०७२ साल असोज ३ गते आजकै दिन नेपालको संविधान जारी भएको थियो । यो ऐतिहासिक क्षणको सम्झना र सम्मान गर्न हामीले संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा समेत मनाइरहेका छौं । संविधान दिवस तथा राष्ट्रिय दिवसको यस सुखद् अवसरमा देशभित्र र बाहिर रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

यस सुखद अवसरमा राष्ट्रियहित, लोकतन्त्र, र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक पटक गर्दै आएका लोकतान्त्रिक तथा अधिकार प्राप्तिका आन्दोलनको स्मरण गर्दै त्यस क्रममा घाइते, वेपत्ता योद्धा र शहीदपरिवारमा उच्च सम्मान प्रकट गर्दै सम्पूर्ण शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

आजको यस विशेष अवसरमा संविधानसभाबाट संविधान निर्माण हुने अवस्था सिर्जना गर्न आ–आफ्नो तहबाट भूमिका निर्वाह गर्नुहुने सम्बद्ध सबैको योगदानको म हार्दिकता पूर्वक स्मरण र सम्मान गर्न चाहान्छु । तर आज हामीले नवांै संविधान दिवस मनाइरहेको यस क्षणमा अन्योल र थुप्रै प्रतिकुल संभावनाहरुलाई चिर्दै नेपालको वर्तमान संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ हामी बीच हुनुहुन्न, म उहाँको दुखद र असायिक निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रदाञ्जली तथा शोकाकुल परिवारमा गोहिरो दुःख तथा समवेदना व्यक्त गर्दछु ।

नेपालको संविधानले नेपाली समाजमा व्याप्त सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुसाँस्कृति तथा भौगोलिक विविधतायुक्त विशेषताहरुलाई आत्मसाथ गरेको छ । विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै बर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प नेपालको संविधानले लिएको हामी सबैलाई अवगतै छ ।

नेपालको संविधान संवैधानिक परिवर्तनको दस्तावेज मात्र नभएर राज्यको संरचना, शासकीय व्यवस्था, सामाजिक, सांस्कृतिक रूपान्तरणको आधारस्तम्भ पनि हो । यस संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रत तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य तथा मान्यतामा आधारित समाजबादलाई संविधानको आधारभूत संरचनाको रूपमा स्थापित गरेको छ ।
जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छ । यो महान दायित्व पुरा गर्न संविधान निर्माण र परिवर्तन लागि एक ठाँउ उभिएका सबै राजनीतिक शक्तिहरु पुनः साझा सङ्कल्पका साथ एउटै थलोमा उभिएर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ ।

संविधान कार्यन्वयनको पहिलो पाँच वर्ष पूरा भई दोस्रो कार्यकालको पहिलो वर्षमा आइपुग्दा आवश्यक कानूनहरुको अभावमा सङ्घीयताका मर्म र भावाना बमोजिम सङ्घ, प्रदेश र स्थानीय सरकारहरुले जनअपेक्षा अनुसार काम गर्न नसकिरहेको अवस्थामा सङ्घीयता कार्यन्वयन गर्न आवश्यक कानूनी र व्यवस्थापकीय प्रवन्ध गर्न नवौ संविधान दिवसले सबैमा प्रेरणा प्रदान गर्ने कुरामा म विश्वस्त छु ।

हिमाली तथा पहाडी क्षेत्रबाट भइरहेको बढ्दो बसाँइ सराइ,वातावरण विनाश, परापूर्वकालदेखि रहँदै आएको हाम्रो धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिहरु, बढ्दो बेरोजगारी, जन चाहाना अनुसारको शासकीय सुधार, शिक्षा र रोजगारीको नाममा भइरहेको पुँजी र दक्ष जनशक्तिको पलायन र नकारात्मक आर्थिक सुचाङ्कहरु यस प्रदेशको चूनौतिका रुपमा देखिएका छन् ।

यस्तो अवस्थामा हाम्रो सिङ्गो प्रदेश, प्रदेश भित्रका सबै राजनीतिक दलहरु, जनप्रतिनिधिहरु, राष्ट्र सेवक कर्मचारीहरु, नागरिक समाज र हामी सबै दाजुभाइ तथा दिदीबहिनीहरु एक जुट भएर यी साझा चुनौतीहरुलाई अवसरमा परिणत गर्न आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता महसुस भएको छ । हाल कोसी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले सिङ्गो प्रदेशवासीहरुमा सङ्घीयता प्रतिनै वितृष्णा पैदा भएको छ । जनतामा देखिएको निराशा र व्यवस्था माथिकै चुनौतिलाई सामना गर्न सहमति र सहकार्य गरी अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । त्यसैले अहिलेको यस विसम परिस्थितिमा जनभावानालाई बुझेर अघि बढ्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलहरुलाई आव्हान गर्दछु ।

यस ऐतिहासिक संविधान तथा राष्ट्रिय दिवसले ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य मान्यताहरू कार्यान्वयन गर्न प्रेरणा दिने अपेक्षा मैले लिएको छु । यस अवसरमा संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न हामी सबै राजनीतिक दल, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज तथा सम्पूर्ण प्रदेशवासीहरुमा कमन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार प्रयास जारी राख्न म सबैमा अनुरोध गर्दै पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Back to top button