महिला अधिकारकर्मी बास्तोलाको निधन

काठमाडौं । पञ्चायत कालदेखि नै महिला अधिकारको क्षेत्रमा सक्रिय योगदान पुर्‍याउनुभएकी मुक्तमाया बास्तोलाको बुधबार काठमाडौंमा निधन भएको छ।

१९९३ सालमा खनार–४, सुनसरीमा जन्मिनुभएकी बास्तोला विवाहपछि इटहरी नगरपालिका–१२ मा रही राजनीति एवं सामाजिक कार्यमा सक्रिय रहनुभयो।

खनार–४ मा रहेको शारदा माविको स्थापना गर्न भूमि प्रदान गरेर विद्यालयको सञ्चालक समितिमार्फत शिक्षा क्षेत्रमा पनि उहाँले महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ ।

बास्तोलाले २०३५ सालदेखि २०४६ सालसम्म खनार गाउँ पञ्चायतको महिला संगठनको निर्विरोध निर्वाचित महिला सभापतिका रूपमा सक्रिय भूमिका निभाउनुभयो । नेपालमा बहुदलीय प्रजातन्त्र आएपछिका दिनहरूमा पनि उहाँले नेपाली महिलाको हक अधिकारको आन्दोलनमा आफूलाई निरन्तर सक्रिय तुल्याउनुभयो।

महिला नेत्री बास्तोलाको निधनमा आफ्नो फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै कोशी प्रदेश सभाका सांसद रोहित कार्कीले उहाँ खनार बासीको ढुकढुकी रहेको बताउनुभएको छ ।

उहाँले नेत्री बास्तोलाले लामो समय महिला संगठनको सभापति भई जनताको सेवा गर्नुका साथै धर्ममा पनि आस्था राखी खनारको शिव मन्दिरको स्थापनामा सहयोग गर्नुका साथै आजीवन सदस्य रहनुभएको जनाउनुभयो। यस्तै, उहाँ राष्ट्रिय खेलाडी स्व.शम्भु बास्तोलाको आमा हो ।

Back to top button