शिक्षकको सेवा तथा सुविधाको ग्यारेन्टी विधेयकमार्फत् गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षासम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्चाउने प्रतिवद्धता जनाउनुभएको छ ।

आज काठमाडौंको श्री नंदी माध्यामिक विद्यालयमा कम्युटर ल्याबको उद्घाटन गर्दै थापाले विद्यालय शिक्षासम्बन्धी विधेयक सरकारको प्रस्तावमात्रै भएकाले यसमा रहेका धेरै त्रुटीहरूलाई संसदबाट सच्चाउने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले संसदलाई विश्वास गरेर शिक्षकहरुले आफ्नो आन्दोलन स्थगीत गर्नुपर्ने र सरकारले पनि विधेयकमाथिको असन्तुष्टिलाई सच्चाउने प्रतिवद्धता गर्नुपर्ने जिकिर गर्नुभयो।

महामन्त्री थापाले शिक्षकहरूको आत्मसम्मान, मर्यादालाई ध्यान दिनुपर्ने र शिक्षकलाई आवश्यकता अनुसारको सुविधाको ग्यारेन्टी विधेयकमार्फत् गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले अहिलेको विधेयक कम्तीमा पनि २० वर्षका लागि हुने भएकाले हतार नगरी संशोधनका आधारमा अन्तिम टुङ्गो लगाउनुपर्ने धारणा राख्नुभयो। उहाँले अहिलेको अवस्थामा देशभरका विद्यालयमा विद्यार्थीलाई सिकाइको अवस्था परिवर्तन गर्नुपर्ने जिकिर गर्नुभयो।

Back to top button