विद्यालय शिक्षा विधेयकमा छलफल गर्न कांग्रेसद्वारा सांसदको बैठक आव्हान

काठमाडौं । नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा छलफल गर्न र पार्टीको एकीकृत धारणा बनाएर अगाडि बढ्न सांसदहरुको बैठक आव्हान गरेको छ ।

कांग्रेसले संसदमा दर्ता भएका विधेयकहरु उपर निरन्तर छलफल गर्दै आएको छ । त्यस कार्यक्रम अन्तर्गत असोज ८ र ९ गते विद्यालय शिक्षा विधेयकमा छलफल गर्न कांग्रेसले सांसदहरुलाई संसद भवन नयाँ वानेश्वर स्थित लोत्सेहलमा बैठक बोलाएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार विधेयक माथिको छलफलमा सांसदहरुको सहभागिता रहँदै आएको छ । विद्यालय शिक्षा विधेयक धेरै चासोको विषय भएकाले यसमा एकीकृत धारणा तय गर्नु आवश्यक रहेकाले पार्टीका केन्द्रिय सदस्यहरुलाई समेत विधेयकमाथिको छलफलमा आमन्त्रण गर्नुभएको छ । आज पार्टीको केन्द्रिय समितिको बैठकमा बोल्दै उहाँले केन्द्रिय सदस्यहरुलाई समेत विधेयकमाथिको छलफलमा आमन्त्रण गर्नुभएको हो ।

शिक्षा विधेयक २०८० शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले गत भदौ २७ गते प्रतिनिधि सभामा दर्ता गर्नुभएको थियो । प्रस्तावित विधेयकमा असन्तुष्ट शिक्षकहरु आन्दोलनमा छन् । प्रमुख सचेतक लेखकका अनुसार असोज ११ गते विद्युत विधेयकमाथि छलफल गर्ने तय भएको छ । विद्युत विधेयक ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले गत भदौ २७ गते प्रतिनिधि सभामा दर्ता गर्नुभएको थियो ।

Back to top button