एमालेको बागमती अधिवेशनः सर्वसम्मत नेतृत्व चयनको प्रयास, केही पदमा निर्वाचन हुने

काठमाडौं । नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ गते काठमाडौंमा हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

आयोजक कमिटीका अध्यक्ष केशवराज पाण्डेका अनुसार अधिकांश पालिका कमिटी र जनसङ्गठनका प्रतिनिधि चयन भइसकेको विवरण प्राप्त भइसकेको र अन्य तयारी पनि पूरा भएको बताउनुभयो ।

अध्यक्ष पाण्डेले नेतृत्व चयनका सर्वसम्मतरूपमा गराउन पहल भइरहेको र सम्भव नभएमा केही पदमा निर्वाचन पनि हुनसक्ने बताउनुभयो ।

‘मुलुकको राजधानीसमेत रहेको प्रदेश कमिटीको प्रथम र ऐतिहासिक अधिवेशन हुँदैछ । यसमा स्वभाविकरूपमा चासो र आकर्षण हुन्छ ।’ उहाँले भन्नुभयो,‘प्रतिनिधिहरू आइसकेपछि उहाँहरुको भावनाअनुसार हामी अघि बढ्छौँ । तर बाहिर आएजस्तो कुनै गुटबन्दी र अस्वस्थ्य प्रतिस्पर्धा हामीमा छैन । पार्टीको नेतृत्वबाट पनि यो हुनुपर्छ या हुनुपर्दैन भन्ने कुनै सन्देश आएको छैन । यो प्रदेश कमिटीका प्रतिनिधिकै हातमा रहेको निर्णय हो । मुख्य कुरा पार्टीको लक्ष्य र गन्तव्यअनुसार हामी प्रभावकारीरूपमा चल्ने भन्ने नै हो ।’

यसअघि एमालेको लुम्बिनी प्रदेश कमिटीको अधिवेशन भइसकेको छ ।

Back to top button