
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र, वर्ग लिङ्गका समस्या समाधानतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन बुझ्दै उहाँले राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्न सके सबैका समस्या समाधान हुने बताउनभएको हो ।
अति पिछडिएको र विकट क्षेत्रमा सचेतना अभियान सञ्चालन गरे समाजमा देखिएका विकृति विसंगति हटाउन सहज हुने पनि उहाँको धारणा थियो ।
राष्ट्रपति पौडेलले नेपालमा दलितहरू बस्तीका कारण पनि पीडित बनेको बताउँदै भन्नुभयो,‘जहाँ–जहाँ असुरक्षित बस्ती छन् । त्यही दलित समुदाय बसेका छन् । वर्षातको समयमा पहाडमा बाढी पहिरोबाट पीडित हुने दलित समुदाय नै छन् । तराईमा पनि डुबानबाट दलित समुदाय नै पीडित बन्दै आएका छन् ।’
उहाँले नेपालको संविधान अनुसार गठन भएका सबै संवैधानिक आयोगले आफ्नो वर्गको उत्थानका लागि लाग्न जरुरी रहेको धारणा राख्नुभयो ।
यस्तै, दलित अयोगका अध्यक्ष देवाराज विश्वकर्माले आयोगको वार्षिक प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची रहेको बताउनुभयो । उहाँले दलित आयोगले २२ वर्षपछि फेरि दलितको जात र थरको नयाँ सूचीकरण गरेको पनि जानकारी दिनुभयो ।