विनोद चौधरीको गुनासोः यहाँ केही गर्न खोज्नेलाई पाखा लगाइन्छ​​​​

काठमाडौं । उद्योगपति एवं नेपाली कांग्रेस नेता विनोदकुमार चौधरीले नेपाली राजनीतिमा केही गर्न खोज्नेलाई पाखा लगाउने प्रवृत्ति बढेको बताउनुभएको छ ।​

जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उहाँले केही गर्न खोज्नेलाई पाखा लगाउने प्रयत्न भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

‘केही गर्न खोज्नेलाई ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’को रुपमा पाखा लगाइन्छ । के जीवनभर राजनीति गरेकाले मात्रै विकास गर्न सक्ने भन्ने मानसिकता हो? यो मानसिकतालाई परिवर्तन गर्न नसकिए झन् समस्या आउँछ’ चौधरीले भन्नुभयो,‘पार्टीले दिने सरकार विकसित राष्ट्रको आधारशिला हो । चुनावमा बेलामा गुटका आर्थिक रोडम्याप होलान् तर १० वर्षपछि पार्टीको आर्थिक रोडम्याप कस्तो होला? १० वर्षपछि नेपालको आर्थिक र खाका र चित्र कस्तो हुन्छ? मैंले पढ्न पाएको छैन ।’

भित्र बसेर राजनीतिको मात्रै कुरा गर्ने तर, आर्थिक विकास, रोजगारको कुरा र बहस नगर्ने शैली अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ ।

‘भित्र बसेर राजनीतिको मात्रै कुरा गर्छ कि विकासको कुरा गर्छ? बाहिर जान बाध्य नेपालीलाई फर्काउने स्पष्ट रोडम्याप के छ? रोजगारी बढाउने र विकास निर्माण गर्नेबारे के छन् एजेन्डा? यी विषयलाई छुट्टै छलफल गर्न अर्को केन्द्रीय कमिटी बैठक गरौं’ चौधरीले भन्नुभयो,‘विकास निर्माणसँग जोडिएको उद्योग ठप्प छन् । अब राजनीतिको मात्रै कुरा गरेर हुँदैन । देशको विकास र अर्थतन्त्रको बहसमा उत्रिनुपर्छ ।’

Back to top button