
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायतका मधेस प्रदेशका जिल्लामा भइरहेका साम्प्रदायिक घटना सरकार गम्भीर रहेको बताउनुभएको छ ।
सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा अन्तगर्तको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा श्रेष्ठले विभिन्न जिल्लामा भएको साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेको र प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको बताउनुभएको हो ।
बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुकमा त्यसमा आँच पुराउने काम भइरहको भन्दै उहाँले यस विषयमा सरकारले आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो ।
उहाँले धार्मिक संगठनको बैठक बोलाएर संयुक्त वक्तव्य समेत निकालेको भन्दै बैचारिक र राजनीतिक वातावरण बनाएर समस्याका समाधान गर्न पनि सरकार प्रतिवद्धत रहेको बताउनुभयो ।
यस्तै, उहाँले सुन तस्करी लगायतका भ्रष्टाचारका प्रकरणमा गहिराइमा पुगेर अनुसन्धान गर्न निर्देशन दिएको भन्दै सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभयो । गृहमन्त्री श्रेष्ठले असम्बन्धित विषयमा पनि समितिमा आफूलाई बोलाइएको भन्दै आक्रोश व्यक्त गर्नुभयो।
त्यसअघि बैठकमा समिति सदस्यहरूले साम्प्रदायिक घटना, शान्ति सुरक्षाका साथै विभिन्न प्रकरणको अनुसन्धानका विषयमा सरकारको ध्यनाकर्षण गराउनुभएको थियो ।