
विराटनगर । प्रेस चौतारी मोरङले कार्यवहाक अध्यक्षको जिम्मेवारीको विषयलाई लिएर मोरङमा उत्पन्न समस्याको हल गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई आग्रह गरेको छ ।
चौतारी मोरङले आज विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सञ्जीव खनालले आफ्नो अनुपस्थितिमा दिएको कार्यवहाक अध्यक्षको जिम्मेवारीलाई लिएर असहमति जनाउँदै प्रेस सेन्टरले तालाबन्दी गरेपछि समस्याको समाधानका लागि पत्रकार महासंघ केन्द्रलाई आग्रह गरेको हो ।
अध्यक्ष खनाल व्यक्तिगत तथा पारिवारिक कारणले देश बाहिर जानुपर्ने भएपछि कार्यवहाक अध्यक्षको जिम्मेवारी महिला उपाध्यक्ष तारा आचार्यलाई दिनुभएको छ । उक्त विषयमा प्रेस सेन्टरले खुला उपाध्यक्षले कार्यवाहक अध्यक्ष पाउनुपर्ने दावीसहित महासंघमा तालाबन्दी गरेको छ ।
आफ्नो अनुपस्थितिमा संस्थाका कामकारबाही प्रभावित हुन नदिन अध्यक्षले अर्को व्यक्तिलाई कार्यवाहकको जिम्मेवारी सुम्पनु सामान्य प्रक्रिया रहेको भन्दै प्रेस चौतारीले उत्पन्न परिस्थिति निराकरण गर्न महासंघ केन्द्रीय समितिलाई आग्रह गरेको हो ।
नेपाल पत्रकार महासंघ मोरङ शाखामा तालाबन्दी भएपछि यसको पक्ष–विपक्षमा बहस सुरु भएको भन्दै चौतारी मोरङले समाजको अग्रणी संस्था नेपाल पत्रकार महासंघमा यस्ता विवादले लामो समय तालाबन्दी हुँदा समाजमा नकारात्मक प्रभाव पर्ने समेत उल्लेख गरेको छ ।
यस्तै कार्यवाहक जिम्मेवारी दिएकै विषयमा पत्रकार महासंघ मोरङका अध्यक्ष खनालमाथि अभियुक्त सरह आएका अभिव्यक्ति प्रति प्रेस चौतारी मोरङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चौतारी मोरङका अध्यक्ष सुदीप कोइराला र सचिव शशांक पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘अध्यक्ष जस्तो जिम्मेवारी वहन गरेको व्यक्तिमाथि अनेक लाञ्छना लगाउँदा त्यसले महासंघको गरिमा बढ्ने नभई घट्ने हुँदा त्यस्ता अभिव्यक्ति र विचार प्रकट नगर्न हामी हार्दिक अनुरोध गर्दछौं ।’
नेतृत्वले गर्ने निर्णय प्रति सहमति तथा असहमति प्रकट गर्ने अधिकार सबैमा रहेको भन्दै चौतारी मोरङले कार्यवाहक पदका लागि लामो समयसम्म विवाद हुँदा समाजमा जाने सन्देशले समेत पत्रकार महासंघको गरिमामा आँच आउन सक्ने जनाएको छ ।
चौतारीले महासंघको मुल गेटमा नै भएको तालाबन्दीले त्यहाँ बसेर दिन दैनिक समाचार लेख्ने साथीहरूलाई समेत असहज भएको भन्दै तालाबन्दी खोलेर वार्ताको माध्यमबाट निकास खोज्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ ।